FAQs Complain Problems

सूचना

संक्षिप्त परिचय

ककनी गाउँपालिका नुवाकोट जिल्लामा अवस्थित बागमती प्रदेश अन्तर्गतको एक पहाडी गाउँपालिका हो। जुन समुन्द्र सतहदेखि १८२८ मि. को उचाईमा रहेको छ। यस गाउँपालिका २७°२५'७" उत्तरी अक्षांस र ८५°२४'६" पूर्वी देशान्तर अवस्थित छ। यस गाउँपालिकाको पूर्वतर्फ काठमाडौं उपत्यका र शिवपुरी गाउँपालिका पश्चिमतर्फ बेलकोटगढी नगरपालिका र उत्तरतर्फ लिखु गाउँपालिका र दक्षिणतर्फ धादिङ्ग जिल्लाको धुनीबेशी नगरपालिका पर्दछ ।

राज्यको पुनःसंरचनाको क्रममा साबिक ओखरपौवा, चाउथे, ककनी, चतुराले गा.वि.स.का साविक सबै वडाहरु, साविक मदानपुर गा.वि.स.को साविक ७, ८ वडाहरु र साविक थानसिङ् गा.वि.स.का ८, ९ साविक वडाहरुलाई एकीकृत गरी ककनी गाउँपालिका स्थापना गरिएको हो। यस गाउँपालिकामा आठ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको सदरमुकाम एवम् केन्द्र साविक ककनी गा.वि.स. रानीपौवामा रहेको छ । यस गाउँपालिकाको जम्मा ८७.९७ वर्ग कि. मि. क्षेत्रफल रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार घरधुरी ६०१२, परिवार संख्या : ६३८८, जनसंख्या २४,३२३, जसमध्ये महिला १२,३४५ पुरुष : ११,९६७ रहेको र जन घनत्व : २७६.४९ घनमिटर रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको ६ वर्ष माथिका साक्षरता प्रतिशत ६०.४६ जसमा महिला साक्षरता ५१.८३ प्रतिशत र पुरुष साक्षरता ६९.२ प्रतिशत रहेका छन् ।

यस गाउँपालिकामा विभिन्न जातजाति र धर्म सम्प्रदायका मानिसहरु बसोबास गर्दछन्। तामाङ, ब्राम्हण, क्षेत्री, गुरुङ, नेवार, राई, दमाई, कामी तथा सार्की लगायतका विभिन्न जातजातिहरु रहेका छन्, जसमध्ये करिब आधा जनसंख्या तामाङ जातिको रहेको छ। त्यसैगरी यहाँ बस्ने मानिहरुले बौद्ध, हिन्दु, ईसाइ, किराँत लगायतका धर्म मान्ने गर्दछन् । आफ्नो धार्मिक आस्था अनुसार सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्दै विभिन्न चाडपर्व, सांस्कृतिक कार्यक्रमहरु मनाउँदै आएका छन्। यस गाउँपालिका बासिन्दाहहरुको मुख्य व्यवसाय कृषि पेशा हो भने होटल, व्यापार व्यवसाय लगायतका अन्य पेशा पनि अवलम्बन गरेका छन् ।

शैक्षिक उन्नयन र विकासका लागि ३८ ओटा विद्यालयहरु र ४ ओटा छुट्टै बालविकास केन्द्र सञ्चालनमा रहेका छन् । प्राविधिक तथा व्यावसायिक शिक्षलाई जोड दिन प्राविधिक धारतर्फको १ ओटा र नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गतका १ वटा गरी २ ओटा विद्यालयहरु सञ्चालनमा रहेका छन्